तुलसीपुरमा श्रम अभियान आजदेखि सुरु
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८० को नीति तथा कार्यक्रममा श्रम अभियान समावेश गरेको छ । अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, युवासहित श्रम अभियानमा समावेश गर्ने नीतिमा उल्लेख छ । अभियानको आजदेखि सुरु भएको हो ।
तुलसीपुर–हंशपुर सडकखण्ड अन्तर्गत तुलसीपुर ८ गहतेदेखि शान्तिनगरसम्मको सडकमा परेका खाल्डाखुल्डी सम्याउने काम सुरु भएको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा अभियान सुरु भएको हो ।
करिब ११ किलोमिटर सडक संघीय सरकारअन्तर्गत भएपनि जनताले खाल्डाखुल्डीका कारण निकै सास्ती व्यहोर्नु परेकाले पहिलो प्राथमिकतामा राखेर अभियान नै सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो ।
उहाँले श्रम अभियानअन्तर्गत सडक खाल्डाखुल्डी पुर्ने, सडकको पहिरो हटाउने, वृक्षरोपण, सरसफाइका कार्यक्रम रहेको बताउनुभयो । अभियानमा पालिकाको यान्त्रिक साधनहरुको समेत प्रयोग भएका छन् । उक्त सडकखण्डमा अटो चलाउदै आएका ज्ञानु केसीले खाल्डाखुल्डी सम्याएसंगै दुर्घटना कम हुने बताउनुभयो ।
सडक क्षेत्रभित्र पर्ने वडा नंम्बर ८ वडाध्यक्ष धर्मराज वलीले वर्षायाम सुरु भएसंगै त्यस सडकखण्डमा दर्जनौ स्थानमा खाल्डाखुल्डी परेको बताउनुभयो ।