आजदेखि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको खाता रोक्का
काठमाडौं । आजदेखि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको खाता रोक्का भएको छ । महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन । महालेखाका अनुसार प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन । राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु आज साटिने बताईएको छ । आजबाट नयाँ चेक जारी गर्न नपाइने महालेखाको सूचनामा उल्लेख छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नियमावलीले संघ सरकारलाई रकमान्तर गर्दै खर्च गर्ने छुट दिएको छ । यसैविच असारको अन्तिम साता सरकारी खर्च बढेको छ । सरकारले हिजो एकैदिन २० अर्ब पुँजीगत शीर्षकबाट भुक्तानी दिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ गतेमात्र अहिलेसम्मको तथ्यांक अनुसार २० अर्ब रुपैयाँ पुँजीगत शीर्षकबाट भुक्तानी भएको हो । चेक काटिएको बाहेकको भुक्तानी असार २४ गतेमात्र २० अर्ब भएको हो । असार २३ गतेसम्म १ खर्ब ९० अर्ब खर्च भएकोमा २४ गतेसम्म २ खर्ब १० अर्ब पुगेको छ । यो रकम कूल विनियोजनको ५५ प्रतिशत हो । निर्दिष्ट बाहेकको भुक्तानी असार २४ गतेपछि बन्द हुने भएपछि एकै दिन धेरै भुक्तानी भएको हो । पछिल्लो सात दिनमा सरकारले ३९ अर्ब पुँजीगत खर्च गरेको छ । त्यस्तै सात दिनमा ६५ अर्ब चालु खर्च भएको छ । त्यस्तै एकैदिनमा आम्दानी भने २३ गतेको तुलनामा २४ गते १२ अर्ब थपिएको छ । अनुदानसहितको अन्य आम्दानी जोड्दा सरकारले असार २४ गतेसम्म जम्मा ९ खर्ब ३५ अर्ब रहेको छ । असार २४ गतेसम्म सरकारले कूल आम्दानीभन्दा ४ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ ।