धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देश ठिक बाटोमा जाँदैन, परिवर्तन गर्नुपर्छ – अध्यक्ष
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताएका छन् ।
शनिबार काठमाडौंमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा लिङ्देनले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रले देशलाई ठिक बाटो अघि बढाउन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरु प्रयोग भएका दृश्यहरु देखिन लागेकाले समयमा नै सजग हुनुपर्ने धारणा राखे ।
भूराजनीतिक चपेटामा देश फस्न लागेको र पुर्खाबाट प्राप्त गरेको भूमि नै सुरक्षित नरहने हो की भन्न आशंकाबाट मुक्त हुनुपर्ने भन्दै उनले यसका लागि संघीयता खारेज गर्दै राजसंस्था र हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि राप्रपा अघि बढेको बताए ।
लिङ्देनले मुलुकमा संघीयता आएपनि पूरै देशको निर्णयको केन्द्रविन्दु काठमाडौं रहेकाले ५० हजार मान्छे सडकमा उत्रिएर जनदबाब सिर्जना गर्न सके राप्रपाको एजेण्डा पूरा हुन सक्ने तर्क गरे ।
अध्यक्ष लिङ्देनले अहिलेको परिवर्तनलाई सुधार नगरेसम्म देशको स्थायीत्वको कल्पना गर्न नसकिने जिकिर गरे ।