राहुल गान्धीको पुनरावेदन उच्च अदालतबाट खारेज, अब केवल सर्वोच्चको मात्र ढोका खुला
काठमाडौँ । भारतको गुजरात उच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको पुनरावेदन खारेज गरिदिएको छ । शुक्रबार गुजरात उच्च अदालतले मानहानि मुद्दामा गान्धीको पुनरावेदन खारेज गरिदिएको हो ।
सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
राहुल गान्धीको पुनरावेदनमा गत मे २ मै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकको इजलासले सुनुवाइ सके पनि फैसला सुरक्षित राखेको थियो ।
सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका थिए । सुरत अदालतले पनि उनको पुनरावेदन खारेज गरे पनि जमानत भने दिएको थियो । त्यविरुद्ध गान्धीले उच्च अदालतको ढोका ढकढकाएका हुन् ।
गान्धीलाई सुनाइएको सजाय माथिल्लो अदालतबाट रोकिएमा उनको सांसद पद पुनर्बहाली हुनेछ । गुजरात उच्च अदालतले शुक्रबार राहुल गान्धीविरुद्ध अन्य ८ आपराधिक मुद्दासमेत दर्ता भएको बताएको छ । गान्धीले पुन: माथिल्लो अदालतमा पुनरावेदन दिन सक्नेछन् ।
भारतमा २ वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो ।