भारतीय महिला नेपाल आएर शृङ्खलाबद्ध चोरी हातहतियारसहित पक्राउ
भैरहवा । केही दिनदेखि भैरहवा क्षेत्रमा चोरी, डकैती र लुटपाटबाट आतंकित भइरहेको बेला प्रहरीले यसखालको अपराधमा संलग्न गिरोहमध्येको एक भारतीय महिलालाई पक्राउ गरेको छ ।
ती महिला पक्राउ परेको स्थलबाट यस्ता अपराधमा प्रयोग हुने विभिन्न औजार र हतियार पनि बरामद भएको दावी प्रहरीको छ । भारत गोरखपुर उत्तर प्रदेशकी ४३ वर्षीया गीता तिवारीलाई प्रहरीले पक्राउ गरि बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले यी महिला सिद्धार्थनगर नगरपालिका–२ स्थित दीपक यादवको घर भाडामा लिइ चोरी, डकैती र लुटपाट गर्ने भारतीय गिरोहमा संलग्न रहेको बताए ।
‘यी महिला भारतमा पनि यस्ता अपराधमा संलग्न भएको र पछिल्लो समयमा जमानतमा छुटेको कुरा भारतीय सुरक्षा अधिकारीबाट खुल्न आएको छ’, एसपी बिकले भने, ‘उनीसँगै बरामद भएका औजार र हतियार चोरी, डकैती र लुटपाट जस्ता अपराधमा प्रयोग हुने गरेका हुन् ।’
उक्त गिरोहमा संलग्न अन्य चार जना हाल अन्यत्र रहेकाले पक्राउ पर्न नसेको र उनीहरुको खोजी जारी रहेको उनले जनाए । उनका अनुसार, पक्राउ परेकी अभियुक्तले भैरहवामा घटेका चोरी लगायत विभिन्न घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसँग स्वीकार गरेकी छन् ।
प्रहरीले ति महिला बसेको घरबाट उनीसँगै कटुवा पेस्तोल जस्तो देखिने हतियार एक थान, केएफ ७ लेखेको गोली १३ राउण्ड, खुकुरी १ थान, चक्कु, छिनो, सलाई रेन्ची, मोवाइल ५ थान, एक–एक वटा मोटरसाइकल र स्कुटी, सानो ग्यास सिलिण्डर एउटा, १ थान ग्यास कटर, नेपालको बैंकको चेक लगायत केही नेपाली र भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।
सिद्धार्थनगर–३ स्थित चिकित्सक हेमन्तकुमार हलुवाईको घरमा गत बैशाख ९ गते सुनका विभिन्न गहना र अन्य सामान समेत गरि ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल, बैशाख २३ गते सिद्धार्थनगर–३ स्थित अर्का चिकित्सक नरेन्द्र चौधरीको घरबाट सुनका गरगहना, ल्यापटप र नगद ३ लाख २५ हजार रुपैयाँ, जेठ ३ गते सिद्धार्थनगर–८ अन्नपूर्ण टोलमा हुमानाथ पाण्डेको घर फोरेर ल्यापटप, मोवाइल, सुनको औठी र नगद ६० हजार रुपैयाँ चोरी भएको थियो ।
यस्तै, गत असार ११ गते सिद्धार्थनगर–९ ठूलो कोलोनीस्थित श्यामसुन्दर अग्रवालको घरमा सांघातिक आक्रमण गर्दै सुनको बाला ४ वटा, सुनको सिक्री, ब्रासलेट, हिराको औंठी, हिराको ब्रासलेट, आइफोन, घडीलगायत नगद १ लाख १५ हजार रुपैयाँ चोरी भएको थियो । यी घटनामा पक्राउ परेकी महिलासहितको समूहको संलग्नता रहेको प्रहरी भनाई छ ।