लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित
दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका थिए । आगामी आर्थिक वर्षाका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।
सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । यही कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मङ्गलबार भएको वार्तापछि प्रदेशसभाको बुधबारको बैठक सञ्चालन भएको थियो ।
सरकारले यही असार १ गते ल्याएको बजेट चालुतर्फ रु १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख छ ।