बाढीपहिरो पीडितलाई सहयोग गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह

नमुनापत्र संवाददाता
२० असार २०८०, बुधबार ११:०४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र सहयोगमा जुट्न सबैमा आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षायाम लागेसँगै बाढीपहिरोको खतरा रहेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उच्च सतर्कता अपनाउँदै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उनले भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेको उल्लेख गर्दै सतर्कता अपनाउन भनेका छन् । उनले भनेका छन्, ‘पहिरोका कारण राजमार्गहरू अवरुद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।’

अध्यक्ष ओलीले नेकपा एमालेको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

अध्यक्ष ओलीले बाढीपहिरोको जोखिमबारे आफ्ना निकायहरूलाई यथोचित परिचालन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*