सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौँ । सम्पति शुद्धीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विभागले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाभन्दा धेरै बिगो मागदाबी गरिएको छ । विभागले उनका सन्तानको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अदालतसमक्ष माग गरेको छ ।
नविन सुवेदीसमेतका प्रतिवादीहरुले २०७२ साल चैत्र देखि २०७८ साल मंसिरसम्म बैंकको कर्पोरेट कार्यालयमा रहेको रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको पार्किङ खातामा रेमिट्यान्स नै नआएको र आवश्यक कागजात समेत नराखी फर्जी कारोबार गरी बैंकलाई हानी पुर्याएको उल्लेख गरिएको छ ।
विभागका अनुसार बैंकिङ कसूर मुद्दाका प्रतिवादीहरुको खातामा अस्वभाविक कारोबार भएको देखिँदा यसतर्फ सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान तथा कारबाहीका लागि उजुरी परेको थियो ।