अन्तरजातीय विवाहपछि घरमा आगो लगाउने केटीपक्षविरुद्ध मुद्दा दर्ता

नमुनापत्र संवाददाता
१८ असार २०८०, सोमबार १२:१२

जुम्ला । अन्तरजातीय विवाहपछि दलित केटाको घरमा आगे लगाउने केटीपक्ष विरुद्ध मुद्दा दर्ता भएको छ ।

तातोपानी गाउँपालिका वडा नं.४ निवासी २१ वर्षीय मुकुन्द नेपालीले सोही गाउँकी बसन्ती गिरी सँग एक हप्ताअघि प्रेम विवाह गरेका थिए । अन्तरजातीय विवाह गरेको जोगमा मुकुन्द नेपालीको घरमा आगो लगाउने केटीपक्षका विरुद्ध सोमबार (जातीय छुवाछुत तथा भेदभावको) मुद्दा दर्ता भएको हो ।

अन्तरजातीय बिहे गर्ने केटीका दाइ हिक्मत गिरी सहित बुबा र काका विरुद्ध किटानी सहित जातीय छुवाछुत तथा विभेदको मुद्दा दर्ता भएको मुकुन्दका दाइ भरत नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो,“.विवाह वैधानिक नभए कारबाही गर्ने,छलफल गर्ने प्रक्रिया अनेक थिए । तर दलित केटाको घरमा सुनियोजित ढङ्गबाट आगा लगाइयो । पाँच वर्षअघि मात्रै बनाएको नयाँ घरमा आगो लगाइदिएपछि परिवार अब घरबारविहीन हुनुपरेको छ ।”

उहाँका अनुसार भाइ मुकेन्द्र पनि अहिले परिवारका कसैको सम्पर्कमा छैनन् । पछिल्लो समय विकसित घटनाक्रमको पहिचान नहुँदै कुशित मनसायले गरिएका षड्यन्त्रपूर्ण योजना र उक्साहटको भरमा भएको अपराध कुनै हालतमा नस्विकार्ने बताउनुभयो ।

यता प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार दलित केटापक्षबाट प्राप्त निवेदनका आधारमा घरमा आगोले लगाउने केटी पक्षका विरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको छ । मुद्दा शाखाको दर्ता किताबको १ सय ५ दर्ता नम्बरमा (आपराधिक,उपद्रव र जाजातीको आधारमा छुवाछुत वा अन्य विभेदपूर्ण व्यवहारको कसूरमा)मुद्दा दर्ता भएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

यद्यपि,मुकुन्दका दाइ भरतले आइतबार बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा बसन्तीका दाइ हिम्मत गिरीलाई हिजै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरीक्षक जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । उहाँले भन्नुभयो,“पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ । मुद्दा पनि दर्ता भइसकेकोले अब घटनाको विस्तृत अनुसन्धान हुने छ ।”

आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । पीडित भरतले क्षतिपूर्तिको माग सहित किटानी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*