काँग्रेसमा गगन प्रवृत्ति र देउवा प्रवृत्तिको भिडन्त, जीत कस्को ?
काठमाडौं । लोकतान्त्रिक अभ्यासमा लामो विरासत बोकेको दाबी गर्ने मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको आन्तरिक जीवन धरमराउने त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।
झन्डै ७ दशक लामो लोकतान्त्रिक अभ्यास गरेको कांग्रेसभित्रको विवाद सडक र सार्वजनिक मञ्चमा छताछुल्ल पोखिन थालेको छ । यहिबीचमा कांग्रेसले असार २१ गते जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी भित्रको आन्तरिक लोकतन्त्र सद्दे रहला ? प्रश्न उब्जिएको छ ।
कांग्रेस महामन्त्री गगन थापाका पछिल्ला अभिव्यक्ति सभापति शेरबहादुर देउवा लक्षित सुनिन्छन् । सभापति देउवाको कार्यशैली र आचरणकै कारण कांग्रेस इतिहासकै सवैभन्दा कमजोर धरातलमा उभिएको महामन्त्री थापाको आरोप छ ।
नेतृत्वको एकलौटी निर्णयले पार्टी जीवन नै धरमरमा परेको बुझेका थापाको सुसुप्त विद्रोह पार्टीको आन्तरिक बिषय मात्रै रहला ? यो चासोको विषय हो ।
पछिल्लो समय त सार्वजनिक मञ्चमै थापाले कांग्रेस रुपान्तरणका लागि सबैभन्दा पहिले पार्टीबाट देउवा प्रवृतिलाई अपदस्त गर्नुपर्ने भन्दै आक्रोश पोख्ने गरेका छन् ।
प्रायः सार्वजनिक कार्यक्रममा थापाले कांग्रेसमा देखिएको यथास्थिति, गुटबन्दी, परम्परावादी र सत्तावादी चरित्रले कांग्रेसलाई संकटको बाटोमा पुर्याएको भन्दै त्यसलाई चिर्ने संकल्पसहित आफु अगाडी बढीरहेको जिकिर गरिरहेका छन् ।
पार्टी निश्चित मापदण्ड, आचारसंहिता, नियम र परिधिभित्र रहन्छन् । महामन्त्रीद्वयका नजरमा सभापति देउवा मुख्य जिम्मेवार देखिएपनि कांग्रेस कमजोर हुनुका पछाडि पार्टीभित्र मौलाउँदै गएको संस्थागत अराजकता प्रमुख कारक हो भन्ने आम बुझाई पनि जबरजस्त देखिन्छ ।
कांग्रेस नेताहरु आफ्नो पार्टीलाई लोकतन्त्रको हिमायति ठान्छन् । तर, तिनै नेताहरु पार्टीलाई विधि र विधान अनुसार सञ्चालन गर्न सकिरहेका छैनन् ।
विधानतः कांग्रेस केन्द्रीय समितिको बैठक २ महिनामा एक पटक बस्नुपर्ने प्रवाधान छ । तर, कांग्रेसको १४ औँ महाधिवेशन सकिएपछि हालसम्म जम्मा २ पटक मात्रै केन्द्रीय समितिको बैठक बसेको छ ।
यसै दृष्टान्तलाई नियाल्ने हो भने पनि कांग्रेस भित्र संस्थागत वेथिति मौलाउँदै गएको कुरा प्रष्ट बुझ्न सकिन्छ । पार्टी भित्रका यस्ता वेतिथिलाई समाधान गर्न र नियमित बैठक सञ्चालन गर्न पार्टीको जिम्मेवार व्यक्ति महामन्त्रीको भुमिका के ? कार्यकर्ता तहबाट प्रश्न पनि उठ्न थालेको छ ।
कांग्रेसको रुपान्तरण र परिवर्तनको बहस नौलो भने होइन । विगत लामो समयदेखि नै नेतृत्वको कार्यशैली प्रति प्रश्न उठाउँदै संस्थापन इतर पक्षले विद्रोह गर्दै आइरहेको छ ।
कांग्रेस महामन्त्रीद्वयले पार्टीको १४ औँ महाधिवेशनपछि निरन्तर खबरदारी पनि गर्दै आइरहेका छन् । झन्डै ७ दशक लामो लोकतान्त्रिक अभ्यास गरेको कांग्रेसमा यस्ता खालका खबरदारी र आलोचनालो पार्टीको आन्तरिक लोकतन्त्रलाई झनै मजबुद बनाउँछ । तर, कांग्रेसको आन्तरिक जीवन नै धरमरमा पारेर गरिने विद्रोहले भने पार्टी भित्रको लोकतान्त्रिक अभ्यासलाई सखाप पार्दै लैजान्छ । यतिमात्रै होइन ।
यसरी सडक र सार्वजनिक मञ्चमा पोखिने रिस र आवेगले कार्यकर्ता तहमा नैराश्यता पैदा त गर्छ नै सिङ्गो राजनीतिक प्रणालि माथि नै पनि खतरा निम्ताउँछ ।
त्यसैले पार्टीभित्रका आन्तरिक लडाईलाई छताछुल्ल पार्नुभन्दा पार्टीभित्रै राफसाफ गर्दै अगाडी बढ्नु नै हितकर हुने जानकारहरुले नै दाबी गर्ने गरेका छन् ।