आगामी चुनावमा रास्वपा पहिलो पार्टी बन्नबाट कसैले राेक्न सक्दैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी (२०८४ सालको) चुनावमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउन सबै लाग्नुपर्ने बताए । यसका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढनुपर्ने बताए ।
‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने उनको तर्क थियो । सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिईरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु, कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन,’ उनले भने, ‘तर तपाई–हामीहरुले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमान्दारिताका साथ काम गरिदिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ । म त पहिल्यैदेखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन । जनता त त्यस्तो मानिस खोजिरहेका छन्, जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस् ।’
एउटा भिजिटिङ कार्डमा गज्जब पद लेख्ने लोभमा मात्रै पार्टीको पद ओगट्न नमिल्ने उनको भनाइ छ । लामिछानेले भने, ‘साँच्चै नै त्यो पदको गरिमा बढाउनका निमित्त मुलुकको परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ । म त्यो अभियानको एउटा सिपाई हुँ । म सिपाई भएर काम गर्न सक्छु, पद मेरो लागि ठूलो कुरा होइन । पदमा त्यही आउँछ, जो जान्दछ । जान्नेलाई छान्ने भन्नु भयो भने बस पुगिहाल्छ । मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन, भईरहेका छन । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भईरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै ।’
सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराएका छन् । ‘हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरुले विपक्षको भन्दा पनि माथि उठेर गाली–गलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नगर्नुहोस्,’ उनले भने ।