नेपाल नेदरल्यान्डसँग पराजित

नमुनापत्र संवाददाता
९ असार २०८०, शनिबार २०:३८

काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । यो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना टुङ्गिएको छ ।

जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डसँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डसँग सुपर सिक्समा प्रवेश गरेको छ ।

यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्ड, जिम्बावे र वेस्ट इन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् ।

नेदरल्यान्डको जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए । त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो ।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्ट इन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो ।

यसअघि जिम्बावेसँग छ विकेटले पराजित नेदरल्यान्डले अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्डले वेस्ट इन्डिजसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*