गठबन्धन फेरिन्छ, सरकार फेरिन्छः गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले नचले गठबन्धन फेर्ने कुरा नौलो नभएको बताएका हुन्।
‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ,’ उनले भने।
उनले सरकार छाड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने बताए। महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे।
‘ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न किन नसक्ने? जाओस् न त सरकार,’ उनले भने।
उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने बताए।
‘समाजवादीमा एमाले पनि थपियोस्। एक्लै लड्छ काँग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ ।अब नेपाली काँग्रेसले छलफल गर्ने बेला आएको छ,’ उनले भने। @ सेतोपाटीबाट साभार