कपुरकोटले ४० करोडको बजेट ल्याउँदै : कृषि र स्वास्थ्य प्राथमिकतामा
सल्यान । कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि करिब ४० करोड बराबरको बजेट ल्याउने भएको छ । गाउँपालिकाले असार १० गते १३ औं गाउँसभामा करिब ४० करोडको बजेट प्रस्तुत गर्ने भएको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषिदेखि खरको छानोमुक्त घर बनाउने अभियानलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
यस्तै आउँदो आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको अध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकाका नागरिकहरु स्वास्थ्य उपचारका लागि अझै पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको बताउँदै उहाँले जटिल प्रकृतिका स्वास्थ्य समस्या बाहेक अरु सबै स्वास्थ्य समस्याको उपचार गाउँपालिकामा नै गर्ने बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य संस्था सुधार कार्यक्रम अन्तर्गत प्रत्येक वडामा प्रस्तुती गृह बनाएर स्वास्थ्यकर्मीको व्यवस्था गर्ने उहाँले बताउनुभयो । यस्तै कृषि कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने छ ।