नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

नमुनापत्र संवाददाता
३० जेष्ठ २०८०, मंगलवार १३:१९

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न भएको १३ महिला पछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले मलेसिया भैरहवा काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । नेपाल वायु सेवा निगमले पहिलो पटक गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट व्यवसायिक नियमित उडान गरेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेकोे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित बिमानस्थलमा अवतरण गरेको थियो ।

विमानबाट १ जना बिजनेश क्लास ३० जना ईकोनोमि क्लासका गरी ३१ जना यात्रु भेरहवा झरेका थिए भने ६० जना यात्रु भैरहवाबाट काठमाण्डौ लगेर अवतरण गरिएको थियो ।

नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तराष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका थिए । भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडेको थियो ।

विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं अवतरण गरेका छन् ।

नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले निगमले अहिले मलेसिया भैरहवाका लागि प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ रहेको बताए । उनले अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको बताए ।

मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहेको छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

निगमका उपनिर्देशक तथा प्रवत्ता पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताए । भारतले एअररुट अनुमति दिईहाले चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाडौं उडान गर्ने योजना रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*