नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाण सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीसहित १६ जनालाई काठमाण्डौ जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यस्तै अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुद्दा चलाइएका ३० जनामध्ये १२ जना अझै फरार रहेका छन् । अभियुक्तहरूविरुद्ध ठगी, संगठित अपराध, लिखत किर्ते, राष्ट्रहित प्रतिकूलको कसुर र एकीकृत कसुर मुद्दामा नियमानुसार कैदसहित २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो भराउन पनि आदेश दिइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाण्डौमा १२ दिनदेखि थुनछेकको बहस चलेको थियो । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस हिजो बिहीवार सकिएपछि आज जिल्ला सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।
यो घटनामा म सामेल थिइनँ : खाँण
यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् ।
अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएै खाँणले यो घटनामा आफू संलग्न नभएको बताएका हुन् । उनले अघि भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु ।’
अदालतको आदेश पूरा पढ्न नपाएको बताउदै उनले अदालतको आदेश पालना गर्ने बताए ।