लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै
बुटवल । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आज कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ ।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई गठवन्धनले नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।
चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षर सहित दाबी पेस गर्ने तयारी भएको नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।
गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।
केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई नेकपा माओवादी केन्द्रसहित जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गर्न लागेका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।