शान्तिको कामना गर्दै तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय म्याराथन हुने

नमुनापत्र संवाददाता
२२ चैत्र २०७९, बुधबार २०:०३

बुटवल । लुम्बिनीमा बिहीबार अन्तर्राष्ट्रिय पिस म्याराथन प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारी शान्तिको कामना गर्दै पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । उहाँले खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा गुग्ने लक्ष्यसहित २०७ राष्ट्रकालाई निमन्त्रणा गरिएको बताउनुभयो ।

आयोजक लुम्बिनी खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । निमन्त्रणा गरिएका सबै देशबाट सहभागी भएमा हालसम्मकै ठूलो म्याराथन हुने महासचिव श्रेष्ठको दाबी छ ।

कपिलवस्तुको तिलौराकोट दरबारबाट विहिबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगितामा भारत, श्रीलंका लगायत विभिन्न देशका ५० बढी धावक सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यो वर्षको प्रतियोगिता समापनसँगै २०७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिनेछ । विशेष गरि वुद्धिजम मान्ने देशहरुलाई लक्षित गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

लुम्बिनीलाई विश्वसामु चिनाउन र लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले गौतमबुद्वको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन प्रतियोगिता आयोजना गरिएको लुम्बिनी खेलकूद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद राशी प्रदान गरिने सदस्य सचिव भट्टराईले बताउनुभयो ।

यसैगरी उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको भट्टराईले जानकारी दिनुभयो । पुरस्कारका लागि मात्रै ४ लाख २४ हजार खर्च अनुमान गरिएको प्रतियोगिता सफल पार्न ४० लाख खर्च अनुमान गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*