लुम्बिनी प्रदेशमा माओवादी सहित ६ दलले लिए समर्थन फिर्ता, कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग

नमुनापत्र संवाददाता
१२ चैत्र २०७९, आईतवार १९:१५

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेको नेकपा माओवादी केन्द्रसहित ६ दलले लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

नेकपा एमालेका लिला गिरी नेतृत्वको सरकारबाट राजिनामा दिएर माओवादी केन्द्र सहितका ६ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

मुख्यमन्त्री लिला गिरीलाई राजिनामा बुझाएर उनिहरूले आजै प्रदेश प्रमुख अमिक शेरचन समक्ष समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

त्यस लगत्तै नेपाली कांग्रेस,माओवादी केन्द्रसहित ७ दलले संविधानको धारा १६८ (२) अनुसार कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ५३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा यसअघि धारा १६८(२) अनुसारको अभ्यास भैसकेको भन्दै सोहि धारा अनुसार नयाँ सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुख शेरचन समक्ष माग गरे ।

चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादीका दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी, लोसपाका दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ता, जसपाका दलका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*