बुटवलमा चैत्र ४ गतेदेखि तिलोत्तमा गोल्ड कप हुने

नमुनापत्र संवाददाता
२५ फाल्गुन २०७९, बिहीबार ०७:०८

बुटवल । बुटवलमा आगामी चैत्र ४ गतेदेखि ‘ तिलोत्तमा गोल्ड कप’ हुने भएको छ । बुटवल–११ देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले जानकारी दिए ।
विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरु बीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्ड कपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरी उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरी विधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद राशी प्राप्त गर्ने छ भने उत्कृष्ट फरवार्डर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार राशी प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्याद अफदी म्याचले ११ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने संघका रुपन्देही अध्यक्ष लोक पुनले जानकारी दिए ।
यो संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, एफिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदुरपश्चिम–११ गरी ८ टिमको सहभागिता रहेको रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
बुधबार प्रतियोगिता हुने खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसी (कुमार) ले यो प्रतियोगिताले केही नयाँ प्रतिभाहरुको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।
प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोगको अपेक्षा गर्दै उनले यस क्षेत्रको मात्र नभई मुलुककै लागि महत्वपूण रहेको तिलोत्तमा गोल्ड कप आयोजनाले खेलाडी तथा यस क्षेत्रमा लाग्ने प्रतिभाहरुलाई अवसर प्रदान गर्ने उल्लेख गरे ।
यस क्षेत्रकै पुरानो प्रतियोगिताको रुपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको थियो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यस पटक प्रतियोगिताको २२ औं संस्करण हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*