अनियमितताका विरुद्ध विद्यार्थीहरु सडकमा उत्रिनुपर्ने बेला आयाे: सांसद केसी
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवम् सांसद चित्रबहादुर केसीले देशमा व्याप्त भ्रष्टाचार र अनियमितताका विरुद्ध विद्यार्थीहरु सडकमा उत्रिनुपर्ने बेला आएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठाैँ) को दाङमा २३ औं राष्ट्रिय सम्मेलनकोे उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विद्यालयमा अहिले विद्यार्थीहरुलाई राजनिति गर्नु हुदैन भन्ने सिकाइदै आएको कुरा गलत भएको बताउनुभयो । विद्यार्थीहरु आफ्नो अधिकारको लागि, देशमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न र नागरिहरुको नैशर्गिक अधिकारको लागि पनि राजनिति गर्न आवश्यक रहेको उहाँको भनाई । २०२१ सालदेखि धेरै संघर्ष गरेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलाई बचाएर ल्याएको बताउनुभयो । आफु पनि विद्यालय तहबाटै राजनिति गरेर अहिले सांसद सम्म पुगेको उहाँले बताउनुभयो ।
यस्तै उहाँले लामो संघर्ष, त्याग, र बलिदानीबाट प्राप्त गणतन्त्र खतरामा पर्ने गरी हालका राजनीतिक दलहरूले गरिरहेका गलत क्रियाकलापले जनतामा निराशा थपिएको टिप्पणी गर्नुभयो । नागरिकहरूको निराशा हटाउन सुशासन, समृद्ध मुलुक निर्माणका लागि संघीयता खारेजी, राष्ट्रघात, र भ्रष्टाचारको अन्त्य आवश्यक रहेको बताउनुभयो ।
सम्मेलनमा अखिल छैठाैँका केन्द्रीय अध्यक्ष देवेन्द्र कुवरले संघीयताका कारण मुलुक कमजोर बन्दै गएको भन्दै संघीयता खारेजी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले संघीयता खारेजी र भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान अघि बढाउन आग्रह गर्नुभयो ।
सम्मेलनमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष तथा पूर्व सांसद रेश्मीराज नेपाली, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहाकार आनन्द शार्मा, नेकपा मसालका लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी लगाएतकाले बोल्नुभएको थियो ।
आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ । सम्मेलनमा देशभरबाट ३ सयभन्दा बढी विद्यार्थी नेताहरू सहभागी भएका छन् । सम्मेलनले विद्यार्थी आन्दोलनको वर्तमान अवस्था, आगामी कार्यनीति, र राजनीतिक विषयमा छलफल गर्दै “दाङ घोषणा पत्र“ जारी गर्नेछ ।
अखिल दाङका अध्यक्ष सेवक भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अखिल छैठाैँका महासचिव सुवास जिसीले गर्नुभएको हो ।