कपुरकोट आधारभूत अस्पतालले आगामी भदौदेखि स्वास्थ्य बिमा सेवा दिने

नमुनापत्र संवाददाता
२४ श्रावण २०८१, बिहीबार २०:५२

सल्यान । कपुरकोट आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले सल्यानमै पहिलो पटक स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको हो ।

अस्पताल र स्वास्थ्य बिमा बोर्डबिच बिहिबार (आज) भएको सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा सेवा शुभारम्भ हुने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार कपुरकोटवासीमात्रै नभएर पालिका बाहिरका नागरिकले पनि कपुरकोट आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा पाउने भएका छन् ।

पाँच जनासम्मको परिवार वार्षिक ३ हजार ५ सयमा स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन सक्छन् । यदि पाँच जनाभन्दा बढी परिवार भएमा प्रतिव्यक्ति ७ सय थपेर बिमा आवद्ध हुन सक्ने प्रावधान रहेको छ ।

यस्तै अति गरिब सूचीमा समावेश र अति अशक्तता भएका व्यक्ति र जेष्ठ नागरिकहरूको निःशुल्क बीमा हुनेछ भने महिला स्वास्थ्य स्वयंसेविकाहरूको ५०% शुल्क छुट हुने व्यवस्था रहेको बिमा बोर्डले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पालिकाका सम्पूणर् नागरिकलाई स्वास्थ्य बिमा गर्न आग्रह गनुभयो । उहाँले नागरिकलाई स्वास्थ्य उपचारमा सहजता ल्याउनका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु भएको र अब कपुरकोट आधारभूत अस्पतालबाट पनि सेवा पाउन सकिने बताउनुभयो।

नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गराउनका लागि प्रत्येक वडामा अभिकर्ता सक्रिय रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

उहाँले कपुरकोट आधारभूत अस्पतालबाट अब भिडियो एक्सरे, एक्सरे, आधुनिक ल्याब सुविधा, फार्मेसी सेवा र घुम्ती विशेषज्ञ सेवासमेत उपलब्ध हुने र जसका लागि आवश्यक जनशक्ति र स्रोत साधनको व्यवस्थापन प्रक्रिया समेत अगाडि बढेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*