मसिनो चामल तुलसीपुरमा खाद्य व्यवस्थाबाट धमाधम विक्री

नमुनापत्र संवाददाता
७ माघ २०८०, आईतवार १७:०५

दाङ । तुलसीपुर–७ का भावना घर्तिले नियमीत रुपमा स्टिम जिरा मसिनो चामल खरीद गर्नुहुन्छ । अन्य चामल भन्दा मसिनो र खाँदा स्वादीलो हुने भएकाले सो चामल किन्ने गरेको घर्तिले बताउनुभयो । दाङको तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा स्टिम जिरा मसिनो चामल पाइने घर्तिलाई जानकारी थिएन । त्यसैले पहीले उहाँले नियमति रुपमा बजारवाटै खरीद गर्नुहुन्थ्यो । खाद्य व्यापार कम्पनीको कार्यालयमा पाइन्छ भन्ने जानकारी पाउनुभएको छ ।

बजार भन्दा सस्तो र राम्रो पनि भएकाले नियमित रुपमा खाद्यवाट खरीद गर्न थाल्नुभएको छ ।

यस्तै तुलसीपुर–१० का बविता कालाथोकी पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नियमित ग्राहक हुनुहुन्छ । यहाँवाट चामल खरीद गर्दा गुणस्तरीय र बजार भन्दा सस्तो मूल्यमा पाइएकाले सँधै खाद्यवाटै लैजाने गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरमा चामल खरीदका लागी पुग्ने ग्राहकको चहलपहल बढ्न थालेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरमा चालु वर्षको साउन देखी पौष मसान्त सम्म मोटा तथा मसीना ३ हजार ५ सय १५।५० क्विन्टल चामल खरीद तथा प्राप्ती गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङका प्रमुख तिलक सुनारले बताउनुभयो ।

जसमध्य वितेको ६ महिनामा दाङ्ग जिल्ला सहित विभिन्न जिल्लमा गरी २ हजार १ सय ५१ क्विन्टल चामल बिक्री तथा चलान भैसकेको प्रमुख सुनारले बताउनुभयो ।

अहिले गोदाममा १ हजार ३ सय ६४ क्विन्टल बढि चामल मौजुदा रहेको छ । जसमा स्टिम जिरा मसिनो चामल १ हजार ३ सय ५७ क्विन्टल,सोना मन्सुली चामल १।२५ क्विन्टल र अरुवा मोटा चामल ६।२५ क्विन्टल मौज्दात रहेकाे बताउनुभयो ।

सबै भन्दा धेरै माग रहेको स्टिम जिरा मसिनो चामल २५ केजीको क्षमताको प्याकेजीङमा उपलव्ध रहेको छ । बजार मूल्यभन्दा सुपथमा बेचिरहेको खाद्यले स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८५ रुपैँयाका दरले २५ केजीको वोरीलाई प्रतिवोरा २ हजार १ सय पच्चिस रुपैँयामा विक्री गर्दे आएको छ।

प्रमुख सुनारका अनुसार पछिल्लो समय चामल खरीदका लागी आउने ग्राहकको संङ्ख्या बढेको छ । विगतका वर्षको तुलनामा यो वर्ष चामल खरीद गर्ने ग्राहकको सङ्ख्या बढेको हो । खाद्यको दाङ शाखाले कर्णाली प्रदेशमा पनि सहुलियतमा चामल चलान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*