वार्षिक कार्य प्रगतिमा सल्यानमा कपुरकोट गाउँपालिका प्रथम
दाङ । सल्यानको कपुरकोट गाउँपालिका आर्थिक वर्ष २०७९।०८० को कार्य प्रगतिका आधारमा प्रथम भएको छ । जिल्लामा रहेका १० पालिकालाई उछिन्दै कपुरकोट गाउँपालिका प्रथम भएको हो । एक सय पूर्णाङ्कमा गरिएको मूल्याङ्कनमा बागचौर नगरपालिका द्वितीय र त्रिवेणी गाउँपालिका तृतीय भएको छ ।
वित्तिय प्रगति, भौतिक प्रगति, योजनाको पारदर्शिता, कार्यान्वयनमा नयाँ अभ्यास, आर्थिक सुशासनका उपलब्धि, शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सेवा प्रवाहको गुणस्तर, अनुगमन, लैङ्गिक समानता, अन्तर पालिका समन्वय, बिगतको समीक्षा र भावी योजना लगायतका बिभिन्न १४ सूचकमा रहेर मूल्याङ्कन गरिएको थियो ।
जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा रहेका संघीय तथा प्रादेशिक कार्यालय तर्फ कृषि विकास बैंक प्रथम, स्वास्थ्य सेवा कार्यालय द्वितीय र पशुसेवा कार्यालय सल्यान भएको छ । कार्य प्रगतिमा प्रथम, द्वितीय र तृतीय हुने पालिकालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिल्ला समन्वय प्रमुख असबीर बुढाथोकीले हस्ताक्षर गरेको प्रशंसा पत्र प्रदान गरिएको कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।
यता आफू नेतृत्वको गाउँपालिका २०७९।०८० को वार्षिक कार्य प्रगतिमा प्रथम भए पछि गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन र उपाध्यक्ष प्रकाश भण्डारीले कार्य सम्पादनमा सहयोग पुर्याउने सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि,राजनितिक दल, टोल विकास संस्था तथा आम गाउँपालिकाबासीमा धन्यबाद दिनु भएको छ ।