यमपञ्चकको चौंथो दिन आज गोवर्द्धन पर्वतसँगै गोरुको पूजा गरिदै
दाङ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वतसँगै गोरुको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको बताइन्छ ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।