राहत वितरणमा एकरुपता नभएको भुकम्पपीडितको गुनासो , राहत वितरणमा समेत भेदभाव

नमुनापत्र संवाददाता
२३ कार्तिक २०८०, बिहीबार ०८:५२

काठमाडौ । जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितले राहत वितरणमा एकरुपता नभएको गुनासो गरेका छन् । भूकम्प गएको ६ दिन भइसक्दा समेत प्रभावितले राहत पाउन सकेका छैनन् । केहीले पाए पनि त्यो पर्याप्त नभएको पीडितको गुनासो छ । पीडितहरु खुला ठाउँमा बसिरहेका छन् । दिनदिनै बढिरहेको चिसोले प्रभावितलाई थप सास्ती थपेको छ ।चिसोबाट जोगिन उनीहरुले आवश्यक लत्ता कपडा पाउन सकेका छैनन् ।

सरकारले पहिलो चरणको उद्धारको काम समयमै गरे पनि राहत र पुनस्स्थापनामा ढिलाइ भइरहेको छ । अति विशिष्ठ, विशिष्ठ, नेता कार्यकर्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन । दिनहुँजसो उनीहरुको भिड लाग्ने गरेको छ । तर, प्रभावितलाई राहत भने पुग्न सकेको छैन ।राहत वितरण भएका कतिपय ठाउँमा समेत भेदभाव भएको पीडिहरुले बताएका छन् ।

राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको भन्दै पीडितहरुले गुनासो गरेका जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्माले जानकारी दिए। उनका अनुसार आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रित गरी राहत बाँड्ने गरेको पाइएको छ ।यस्तै, विशिष्ठ व्यक्तिहरुको लर्को लाग्दा पनि राहत वितरण प्रभावित भएको छ । राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरु उनीहरुको सुरक्षामा खटिने गरेका छन् ।

यसले गर्दा उद्धार र राहतका काममा असर पर्न थालेको हो । भूकम्पले घर भत्किएपछि प्रभावितहरुले घरबाट सामान निकाल्न पाएका छैनन् । खुला ठाउँमा बसेका सुत्केरी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी मर्कामा परेका छन् ।
सडक छेउछाउमा केही राहत पुगे पनि ग्रामीण र दुर्गम क्षेत्रमा राहत पुग्न नसकेको रुकुम पश्चिमबाट उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिए। गएको शुक्रवार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ परिवार घरबासविहीन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*