भारत र चीनका भूकम्प उद्धार सहयोग प्रस्ताव गृहमन्त्री श्रेष्ठबाट अस्वीकार
काठमाडौं । छिमेकी भारत र चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउन नेपाल सरकारसँग अनुमति मागेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि भारत र चीन दुवैले आफ्ना खोज तथा उद्धार टोली पठाउन खोजेका हुन् ।
भारत र चीनले अनुमति मागे पनि नेपाल सरकारले भने तत्काल खोज तथा उद्धार टोली आवश्यक नभएको जवाफ दिएको छ । “भारत र चीन दुवैले खोज तथा उद्धारका लागि तत्काल टोली पठाउन तयार छौं, यसका लागि टोली तयारी अवस्थामा छ भनि अनुमति मागेका थिए,” उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाह्रखरीसँग भने, “हामीले दुवै देशलाई धन्यावाद दिँदै, अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जानकारी दिएका छौँ ।”
भोलिका दिनमा आवश्यक परे खोज तथा उद्धार टोली पठाउन अनुरोध गर्ने जवाफ भारत र चीनलाई दिइएको उनले जानकारी दिए ।