तलेजुलाई मूलघरबाट दसैँघरमा भित्र्याइयो
भक्तपुर । भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा विधिवतरूपमा बडादसैँ सुरु भएको छ । आज बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा तलेजुलाई मूलघरबाट मूलचोकमा विराजमान गराई दसैँघरमा भित्र्याइएको हो ।
राजप्रतिनिधिका रूपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्गलगायतका विभिन्न धार्मिक हतियारसहित लामबद्ध भएर विषेश प्रकारको पोशाक र विभिन्न बहुरत्न गहना पहिरिएर तलेजुको मूलमूर्तिलाई बोकेर १९ जनाले तलेजुलाई विधिवतरूपमा दसैँघर पुर्याइएको हो ।
आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए ।
रातो र सेता कपडाको विशेष प्रकारको पोशाक, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी, नाइकलेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँघर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो ।
विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैँघरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिनुभयो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिइन्छ ।
तलेजुलाई दसैँघर भित्र्याउँदा जिल्लाका सरकारी निकायका प्रमुख र सर्वसाधारणको भीड लागेको थियो । आजको दिन तलेजुको दर्शन गरेमा असिम पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । दसैँघर भित्र्याएपछि मूल नाइके जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए ।