एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि स्थगित
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शुल्क वृद्धिको निर्णय स्थगन गरेको छ । गत साता नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरिएकोमा उक्त निर्णय हाल स्थगित भएको छ ।
शुल्क वृद्धिको निर्णय चौतर्फी विरोध भएपछि सीटीईभीटी आफ्नो निर्णयबाट पछि हटेको हो । शिक्षामन्त्री अशोककुमार राईले समेत शुल्क वृद्धिको निर्णय पुनःविचार गर्न निर्देशन दिएका थिए । सीटीइभीटीले सूचना प्रकाशित गरेर सरोकारवालासँगको छलफलपछि मात्रै शुल्क समायोजन गरिने जनाएको थियो ।
शुल्क समायोजन भन्दै नर्सिङको शुल्क डेढ लाखले वृद्धि गरिएको थियो भने फार्मेसीको शुल्क साढे ८६ हजार रुपैयाँ बढेको हो । जसमा नर्सिङ पढ्न ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको थियो ।यसअघि नर्सिङको शुल्क ४ लाख ७५ हजार थियो ।
१० हजारभन्दा धेरै विद्यार्थीले नर्सिङ अध्ययन गर्न आवेदन दिने गरी करिब १५ सिटमा मात्रै अध्ययन गर्न सक्ने अवस्था छ । एक सय बेडको अस्पताल नभएका कलेज बन्द गरिएका कारण सिट संख्या विगत ३ वर्षदेखि घटेको हो ।
त्यस्तै एचए पढ्न ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तोकिएको थियो । यसअघि ४ लाख ४ हजार शुल्क थियो । एचएको शुल्क एक लाख १९ हजारले वृद्धि भएको छ । फार्मेसीको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकिएको छ ।
यसअघि ३ लाख ३७ हजार शुल्क थियो । निजी सम्बन्धनमा सञ्चालित शिक्षणसंस्थामा २०७१र२०७२ पछि शुल्क समायोजन गरिएको सीटीईभीटीको भनाइ छ । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५र२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
सीटीईभीटीले २०७८ पुस ६ गतेको शिक्षामन्त्री स्तरीय निर्णयको आधारमा शुल्क वृद्धि गरेको जनाएको थियो । शैक्षिकसत्र २०८०र०८१ मा नयाँ भर्ना हुने विद्यार्थीलाई वृद्धि भएको शुल्क लागू गर्ने भनिएको थियो ।
विभिन्न विद्यार्थी संगठन लगायत चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा.गोबिन्द केसीले समेत शुल्क वृद्धिको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । शुल्क समायोजनका लागि स्तर निर्धारण महाशाखा अर्न्तगत सीटीईभीटीले कार्यदल समेत बनाएको छ ।