तलब माग्न गएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी हिरासतमा

नमुनापत्र संवाददाता
२९ असार २०८०, शुक्रबार २१:३८

कैलाली । कैलालीमा शिक्षकको तलब माग्न नगरपालिका गएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् । जिल्लाको लम्किचुहा नगरपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय कौवापुरका विव्यस अध्यक्ष भरत जोशी जिल्ला चलान भएका हुन्।

उनी आफ्नो विद्यालयमा कार्यरत शिक्षकको तलब नगरपालिकाले नदिएपछि यसबारे बुझ्न नगरपालिकाको कार्यालय गएका थिए । तर नगरपालिकाले उनी माथि अभद्र व्यवहारमा प्रहरीमा मुद्दा दर्ता गरेको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।

नगरपालिकामा जाँदा नगर प्रमुखले अभद्र व्यवहार गरेको अध्यक्ष जोशीको भनाई छ भने उता नगरपालिकाले उनीविरुद्ध मुद्दा नै दर्ता गरिसकेको छ । अध्यक्ष जोशीले भने, ‘२ महिना सम्म शिक्षकको तलब नआए पछि यस बारे बुझ्न नगरपालिका गएको थिए । नगर प्रमुखले के कामले आउनुभयो भन्नु भयो । मैले त्यही पहिला कै कुरा त हो । तलब हाल्ने कुरा भने । उसको तलब हुँदैन भन्नु भयो । मैले कारण के हो भन्दा समय लाग्छ भन्नु भयो । ३ महिना भइसक्यो अझै कति लगाउने हो ? भनेको थिए । तँ बर्ता बोल्छस् भनेर कठालो समाउनुभयो । बाहिर जा भनेर धकेल्नु भयो । त्यसपछि प्रहरी बोलाएर थुनाउनु भयो ।’

तर, यता नगरपालिकाको दाबी पनि अर्कै छ । “अब जुन नगरलाई थाहै हुँदैन । बिनिलाई थाहै हुँदैन । कसले कहाँ परीक्षा लिएर राखेको छ । त्यो त हामीलाई थाहा हुँदैन नि त । त्यस कारण उहाँको विद्यालयको शिक्षकले तलब पाउनु भएको रहेनछ । तलब पाउनु पर्यो भनेर कर्मचारीलाई थर्काउने, धम्काउने, तोडफोड गर्ने विगत देखी गर्दै आउनु भएको थियो । प्रक्रियामा जानु पर्यो नि । निवेदन दिनु पर्यो । कर्मचारी साथीहरू हुनुहुन्छ । हामी छौँ । अरू त अरू अनि बैठक बसिरहेको कोठामा नसोधेरै आएर दादागिरी गर्न मिल्छ ? अनि कालोमसो लगाउँछु अरे, महिला नभए यसो गर्दिन्थे अरे, अभद्र व्यवहार चाहिँ हामीसँग गर्ने ?,” नगर प्रमुख सुशीला शाहीले भनिन् ।

सरस्वती माध्यमिक विद्यालयमा बालबिकास कोटा खाली भए पछि पदपूर्तिका लागी आवेदन खोलिएको थियो । जस अनुसार गत वैशाख १८ गते परीक्षा सञ्चालन गरिएको थियो । तर परीक्षामा नगरका शिक्षा शाखा प्रमुख भने सहभागी थिएनन् ।

आवेदकहरूको परीक्षा सञ्चालन गर्दा नगरपालिका सँग समन्वय नगरी आफू खुसी काम गरेको नगरपालिकाको भनाइ छ । “शिक्षक छनौटका लागी परीक्षा सञ्चालन गर्ने कुरामा सल्लाह गरौँ भनेर बोलाएको तर उहाँहरू त परीक्षा मिति नै तय गरेर आउनु भयो । त्यही दिन मेरो अर्को महत्त्वपूर्ण काम थियो त्यसैले परीक्षामा सहभागी भइन । फेरी आफू खुसी गरेको काममा हाम्रो चासो हुने कुरा पनि भएन,” नगरपालिकाका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेले भने ।

नगरपालिकाले छनौट नगरेको शिक्षकलाई कुन आधारमा तलब दिने भन्ने प्रश्न नगरपालिकाको छ । उता विद्यालयले भने आवेदन खोल्ने देखी परीक्षा सञ्चालन सम्म नगरको अनुमति लिएकाले तलब दिनु पर्ने दाबी गर्दै आएको छ । आवेदकको परीक्षा सञ्चालन गर्दा शिक्षा शाखाको सहभागिता नहुने र नगराउने विषयले नै ठुलो रूप लिएको कतिपयको बुझाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*