डेंगु नियन्त्रणका लागि भूमिका खेल्न सबैमा स्वास्थ्य विभागको आग्रह
काठमाडौं । स्वास्थ्य सेवा विभागले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेको छ । डेंगु नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने भन्दै विभागले यस्तो आग्रह गरेको हो । डेंगु नियन्त्रणका लागि घर भित्रैबाट काम गर्नुपर्ने भन्दै घरमा सरसफाइमा ध्यान दिने, पानी जम्ने खाल्डाखुल्डी नराख्ने तथा लामखुट्टे नष्ट गर्ने अभियान सुरु गर्नुपर्ने विभागको भनाइ छ ।
लामखुट्टेले रातमा मात्रै नभई दिनमा पनि टोक्ने भएकाले यसप्रति सजग हुनुपर्ने विभागको भनाइ छ । डेंगु रोगका सम्बन्धमा विद्यालयदेखि नै सिकाउनुपर्नेमा पनि विभागको जोड छ ।
पालिकाहरुमा डेंगी नियन्त्रणका लागि केही बजेट र आवश्यक सामागी पठाइएको पनि विभागले जनाएको छ । करिब ८० प्रतिशत बिरामीमा डेंगी लागे पनि कुनै लक्षण नदेखिने बताइन्छ । करिब १०÷१५ प्रतिशत बिरामीमा सामान्य लक्षण मात्रै देखिने गरेको छ । डेंगुको औषधि नभएको भन्दै उनले लक्षणअनुसारको उपचार गर्ने भएकाले यस रोगप्रति सचेत हुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जुनदेखि अगस्टलाई डेंगुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।
मनसुनपछिको समयमा डेङ्गु सङ्क्रमण बढ्न सुरु हुन्छ । गतवर्ष ५४ हजार सात सय ८४ जनामा डेङ्गु सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।