लुम्बिनी बौद्ध र काठमाडौं विश्वविद्यालय बीच प्राज्ञिक विकासमा सहकार्य सम्बन्धी सम्झौता
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग सम्बन्धी सम्झौता भएको छ । बिहिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच दुई विश्वविद्यालयबीच सहकार्य र सहयोगका सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सहकार्य सम्झौता पत्रमा काठमाण्डौं विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयकातर्फबाट निमित्त उपकुलपति डा. तिलकराम आचार्यले हस्ताक्षर गरेका छन् ।
दुबै विश्वविद्यालय अनुसन्धान कार्यक्रमहरु सञ्चालन, संयुक्त उपाधि (ज्वाइन्ट डिग्री) सहितका प्राज्ञिक कार्यक्रम निर्माण, सञ्चालनमा सहमत भएको विज्ञप्तीमार्फत जनाइएको छ । ‘संस्थागत विकास तथा प्रवद्र्धन, प्राज्ञिक जनशक्ति आदान प्रदान, विद्यार्थीहरुको अन्तर विश्वविद्यालय प्राज्ञिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलपाहरुमा पारस्परिक सहभागिता दुई विश्वविद्यालयबीच हुनेछ, लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्राज्ञिक उत्कृष्टता सहितको वैज्ञानिक अनुसन्धान, प्राज्ञिक एवम शैक्षिक कार्यक्रमहरुद्वारा नेपाली जनताको जीवनस्तर उकास्नको लागि समष्टिगत एवम् दिगो विकासको समान उद्देश्य प्राप्तिका दुवै विश्वविद्यालयबीच वैज्ञानिक सेवा, सामग्री, प्रकाशन तथा सूचना आदानप्रदान, शैक्षिक तथा प्रशिक्षण कार्यक्रमहरुको योजना तथा कार्यान्वयन, शैक्षिक तथा जनहितका प्रवद्र्धनात्मक कार्यक्रमहरुको आयोजना गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सम्झौता भएसंगै यसै वर्षदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा संयुक्त डिग्री सञ्चालन गर्ने गष्री नयाँ शैक्षिक कार्यक्रम तय गर्न सम्बन्धीत निकायलाई निर्देशन दिइएको छ । संयुक्त शैक्षिक कार्यक्रमका विषयमा संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्ने सहमति भएको जनाइएको छ ।
रुपन्देहीको लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्स संकाय गरी तीन संकाय छन् । विश्वविद्यालय बौद्ध अध्ययनमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह, मानविकीतर्फ कानून, ट्राभल एण्ड टुरिजम, पुरातत्व, संग्राहलय, ग्रामिण विकास लगायतका विषयहरु अध्यापन गर्दै आएको छ । स्कुल अफ डेभलपमेन्ट स्डडिजतर्फ डेभलपमेन्ट स्टडिज, एग्रो फरेष्ट्री विषय सञ्चालनमा रहेका छन् ।
प्राविधिक विश्वविद्यालयको रुपमा विज्ञान, प्रविधि तथा तीसंग सम्बन्धित क्षेत्रहरुमा दक्ष जनशक्ति तयार गर्ने मूल उद्देश्य सहित काठमाडौं विश्वविद्यालय स्थापना भएको हो । यसका ७ वटा सङ्कायहरु क्रमशः मानविकी, शिक्षा, इञ्जिनियरिङ्ग, कानून, व्यवस्थापन, चिकित्सा र विज्ञान अन्तर्गत तत्सम्बन्धि स्नातक, स्नातकोत्तर र विद्याविरिधि तहका कार्यक्रमहरु सञ्चालित छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय र अन्य गरी ६१ संस्थाहरुसँग सहकार्य सम्झौता गरेको जनाएको छ । पछिल्लो महिना विश्वविद्यालयले जापानको सोका विश्वविद्यालय, चीनका सांघाई युनिर्भसिटी, नर्थवेष्ट विश्वविद्यालय, सान्सी नर्मल विश्वविद्यालय, बेइजिङ ल्याङग्वेज एण्ड कल्चरल विश्वविद्यालय, थाइल्याण्डको धम्मकाय खुला विश्वविद्यालय, महाचुलंकार महाविद्यालयसँग सहकार्य सम्झौता सम्पन्न गरेको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।