कृषि पेशा निर्वाहमूखी भएकाले गरिबी हटाउन सकिएन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेशा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी विभागको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको दिगो विकासको आधार कृषि भएपनि कृषि अर्थतन्त्र नै कमजोर हुदा गरिबी हट्न नसकेको उल्लेख गरे । स्रोत र सम्भावना अथाह हुँदाहुँदै स्रोतको न्यूनतम उपयोग गर्न नजान्दा समग्र मुलुकको अर्थतन्त्र नै कमजोर बनेको ओलीको भनाइ छ ।
कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनले बताए । अनाज उत्पादनका लागि प्राकृतिक र उर्वर भूमीलाई बाँझो राखेर देश उँभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए ।
अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउँदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे । कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउँदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफैँ घर आउने ओलीको दाबी छ ।
ओलीले गरिबी निवारणकालागि भाषण गर्नेभन्दा आधुनिक कृषि प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए । कृषिलाई उद्योगका रुपमा विकास गर्दै देशकै आर्थिक मेरुदण्ड बनाउन सकिए मात्रै नेपालको आर्थिक प्रणाली दिगो हुने ओलीले बताए ।