सर्पदंशका घटना बढे, बच्नका लागि के गर्ने ?
काठमाडौँ । सर्पको टोकाईबाट वर्षेनी थुप्रै नागरिकले ज्यान गुमाउने गरेका छन् । तराई क्षेत्रमा सर्पदंशका घटना वढेको तथ्याङ्क देखिए पनि पछिल्लो समय काठमाडौं तथा आसपासका स्थानमा समेत बढ्न थालेको छ । वर्षायाम सुरु भएसंगै सर्पदंशका घटना बढ्ने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक काठमाडौंसहित आसपासका स्थानबाट सर्पले डसेर उपारका लागि आउँने विरामीको संख्या ह्वात्तै बढेको छ ।
वर्षायामसँगै सर्पदंशका बिरामी बढ्ने गर्दछन् । नेपालमा वैशाखदेखि असोजसम्म सर्पदंशका घटनाहरू बढी देखिने गर्छ । यस्तै, झन्डै २६ जिल्लाहरूलाई सर्पदंशको अति प्रभावित जिल्ला मानिन्छ । हरेक वर्ष करिब २० हजार सर्पदंशका घटना हुने गरेको तथ्यांक छ । सर्पदंशकै कारण नेपालमा हरेक वर्षमा करिब २ हजार बढीले ज्यान गुमाउने गरेका छन् । नेपालको तराई क्षेत्रमा दर्पदंशका घटना बढि हुने गरे पनि काठमाण्डौं आसपासका क्षेत्रमा पनि असोज यता सर्पदंशका घटना बढेको देखिन्छ । अहिले काठमाडौं आसपासका क्षेत्रबाट शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशको उपचार गर्न आउनको संख्या निकै बढेको अस्पतालको तथ्यांकमा छ । अस्पतालको तथ्यांक अनुसार असोज १ देखि १७ गते सम्म मात्र १ सय ३१ जना सर्पदंशका घटना आएका छन् । जसमा ४६ वटा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने खालको पाइएको छ ।
तथ्यांक अुनसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइन्छन् । तीमध्ये २० प्रजातिका सर्प विषालु मानिन्छन् । नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्पमा करेत र गोमनका विभिन्न प्रजाति रहेको पाइन्छ । जुन प्रजातिका सर्प तराई क्षेत्रमा धेरै मात्रामा पाइने गरेको छ । वर्षा मौषममा सर्पदंशका घटना बढी हुने भएका कारण सर्पको टोकाइबाट बच्न सचेतताको आवश्यकता छ । साथै, टोकी हालेको अवस्थामा नआतिने, तथा टोकेको ठाउँमा कपडा तथा डोरी नबाँध्ने तथा चुसेर विष निकाल्ने जस्ता क्रियाकलाप घातक हुने चिकित्सकको सुझाव छ ।
सबै सर्प विषालु हुदैनन् । विषालु सर्पले टोकेर विष छोडेमा मात्रै विष लाग्छ । विषालु सर्पले टोकेको अवस्था एन्टिस्नेक भेनमको प्रयोग गर्नुपर्छ । नेपालमा सर्पदंश उपचारका लागि १ सय ६ वटा उपचार केन्द्र रहेका छन् । तीमध्ये अधिकांश तराई क्षेत्रमै छन् । सर्पदंशका बढि घटना तराई क्षेत्रमै हुने भएकाले उपचार केन्द्र पनि तुलनात्मक रुपमा तराइमै धेरै छन् । पहाडी जिल्लाहरूमा सर्पदंशका घटना कम हुने भएकाले उपचार केन्द्रहरू पनि कम छन् ।