लुम्बिनी केबलकार भाेलि (साेमबार) देखि व्यवसायिक रुपमा सञ्चालनमा आउने, स्थानीयलाई २५ प्रतिशत छुट
बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार भाेलि साेमबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्र प्रसाद ढकालले केबलकार जेठ १५ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आउने र २५ गते औपचारिक उद्घाटन हुने बताए ।
लुम्बिनी केबलकारले स्थानीयलाई २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । बुटवल उपमहानगरपालिका–३ मा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।
स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा २५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए ।
स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा लगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको तीन वर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धी भएको ढकालले बताए ।
लुम्बिनी केबलकारले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाका लागि छुट्याएको र उक्त रकम दुबै पालिकाले आधा आधा बाँडफाँट गर्ने ढकालले बताए ।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए ।
खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।
बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तब्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए ।
‘भविष्यमा दैनिक ५ हजार भारतीयलाई केबलकारमार्फत कामाख्यादेवीको मन्दिर दर्शन गराउने लक्ष्य छ’, ढकालले भने, ‘त्यसो हुन सक्यो भने प्रदेश राजधानी सरेको क्षतिपूर्ति केबलकारले गर्छ ।’
तल्लो स्टेशन समुद्री सतहबाट २३० मिटर र माथिल्लो स्टेसन ९४० मिटरको उचाइमा रहेको छ । तल्लो स्टेशनबाट १० मिनेटको यात्रामै माथिल्लो स्टेशनमा पुग्न सकिन्छ ।
यसको लम्बाइ २.६ किलोमिटर रहेको छ । यो केबुलकारमा २५ यात्रु बोक्ने डिब्बा रहेको आयोजना प्रमुख गोकुल साउदले बताए ।
माथिल्लो स्टेशन बसन्तपुरमा भारतको गुवाहटीमा रहेको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा कामाख्यादेवी मन्दिर बनेको साउदले बताए ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । माथिल्लो स्टेशनमा पर्यटकका लागि रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।
केबलकार सञ्चालनमा आएसंगै माथिल्लो स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताए ।
प्रति टिकट एक हजार कायम गरिएको शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ ।
उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।
२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केबलकारको उद्घाटन गरेका थिए ।