लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गरे ।
गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढङ्गले काम कारवाही अघि बढाउनुहोस् ।’
प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश नं १ मा डिआइजी ईश्वरबाबु कार्की, प्रदेश नं २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश नं ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।