बगनासकालीमा कृषि एम्बुलेन्स सुरु, किसानको उत्पादन खेर नजाने

कोरोना राहत कोसमा सहयोग गर्नेहरू थपिँदै
नमुनापत्र संवाददाता
९ बैशाख २०७७, मंगलवार १८:५०

९, बैशाख, पाल्पा । कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा कृषि उपज बिक्रीका लागि बगनासकालीले ‘कृषि एम्बुलेन्स’ सुरु गरेको छ । बन्दाबन्दीका कारण बगनासकालीका गाउँबासीका खेतबारीका उत्पादन बिक्री हुन नपाई खेर नजाओस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

मंगलबार वडा नं. २ को पोखराथोक हुँदै, वडा नंं ९ को झिरभञ्ज्याङ र वडा नं. ८ को घिउसीबासमा तरकारी विक्री गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । ‘बगनासकाली गाउँपालिकाले कृषि उपज खेर नजाओस् भन्ने उद्देश्यले किसानका तरकारी र कुखुरा पनि खरीद गरी बिक्रीको बन्दोबस्तो मिलाएको छ ।’ अध्यक्ष बस्यालले बताउनुभयो । लकडाउनको समयमा किसानले उत्पादन गरेका कृषि उपजका वस्तुहरूको खरिद तथा बिक्री वितरणका लागि बगनासकाली गाउँपालिकै गाडीलाई कृषि एम्बुलेन्स सेवामा प्रयोगमा ल्याइएको छ ।

‘मंगलबार गाउँपालिकाकै कर्मचारी परिचालित गरी वडा नं. १ चिर्तुङधाराको किसानकै बारीबाट तरकारी संकलन गरी सेवा सञ्चालनमा ल्याएका छौं ।’ प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले टेलिफोन सम्पर्कमा जानकारी दिनुभयो । श्रेष्ठका अनुसार कृषकको तरकारी कृषककै मुल्यमा उपभोक्तालाई उपलब्ध गराउने गरी गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो । लकडाउनका समयमा कृषकहरूले उत्पादन गरेका वस्तुहरू बजारसम्म पु¥याउन समस्या परेको अवस्थामा गाउँपालिकाले कृषि सेवा सञ्चालन गरेसँगै यस क्षेत्रका किसानहरूमा खुसी थपिएको छ ।

‘मंगलबार भक्तपुरे काँक्रा २५ मा बिक्री गर्न किसान तयार थिए । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित हामीले कृषक मारमा नपरुन भनेर ४० मूल्यमा उठायौं ।’ श्रेष्ठले बताउनुभयो । उहाँले बुधबारबाट बन्दाबन्दी अवधिभर किसानहरूले उत्पादन गरेका तरकारी खेतबारीमै पुगेर गाउँपालिकाले खरीद गरी कृषि एम्बुलेन्सद्वारा बगनासकालीको गाउँक्षेत्रमा घरदैलो सेवा सहित सामाजिक दुरी कायम गरी बिक्री गरिने औंल्याउनुभयो ।

गाउँपालिकाले मंगलबार भक्तपुरे काँक्रा ४० रुपैयां र बन्दा १० रुपैँयामा कृषकबाट खरीद गरेको थियो । श्रेष्ठका अनुसार ४१२ किलो काँक्रा र १०५० किलो बन्दा बगनाकालीले किसानबाट खरिद गरेको हो । काँक्रा २.५ केजीको १०० रुपैँया र बन्दा ५ केजीको ५० रुपैँयाको प्याक गरी उपभोक्तालाई विक्री गरिने गाउँपालिकाले जनाएको छ । यस्तै बगनासकाली गाउँपालिकाले अध्यावश्यक बाहेक गाउँप्रवेशमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच बगनासकाली गाउँपालिकाको कोरोना राहत कोषमा सहयोग गर्नेहरू थपिएका छन् । गाउँपालिका स्रोत अनुसार मंगलबारसम्म कोषमा नेपाली काँग्रेस बगनासकाली गाउँपालिकाले ५१ हजार १ सय ११, पाँच नं. प्रदेश सांसद नारायण प्रसाद आचार्यबाट ३० हजार, बगनासकाली गाउँपालिका कार्यपालिका सदस्यहरूबाट ५१ हजार, प्याब्सन पाल्पाबाट २० हजार, राष्ट्रिय बाणिज्य बैंक पाल्पाबाट २० हजार, बेस नेपालबाट १० हजार र पाल्पाली संगम पोखराबाट १० हजार रकम जम्मा भएको छ । गाउँपालिका कर्मचारीहरूको ३ देखि ५ दिनसम्मको तलवको स्वेच्छिक सहयोगबाट समेत कोषमा रकम थपिने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*