लकडाउनको मारमा दुग्ध व्यवसायी

प्रकाश अधिकारी(रासस)
९ बैशाख २०७७, मंगलवार १९:३०

सुर्खेत, ९ वैशाख : बराहताल गाउँपालिका–५ बड्डीचौरका रत्नलाल सुवेदीले लकडाउन हुनुअघि दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्नुहुन्थ्यो । उहाँको घरमा चार दुहुना भैँसी र एउटा उन्नत जातको गाई छ । लकडाउनले दूध बिक्री नभएपछि छिमेकीलाई सित्तैमा दिनु परेको उहाँ बताउनुहुन्छ । “दूध खेर गइरहेको छ, गाईभैँसीलाई दाना पनि खुवाउन नपाउँदा दुब्लाउन थालिसके”, सुवेदी भन्नुहुन्छ, “प्रशासनले दूध बिक्री गर्न अनुमति दिए पनि होटल व्यवसाय बन्द हुँदा घाटा बेहोर्नुपरेको छ ।”

बड्डीचौरकै अर्का व्यावसायिक कृषक कृष्ण कँडेलले बिक्री गर्न नपाएर ६० लिटर दूध खेर गएको गुनासो पोख्नुभयो । कोभिड–१९ को रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण यहाँका ग्रामीण भेगका कृषकले पनि दुग्धजन्य पदार्थको सहज बिक्री वितरण गर्न पाएका छैनन् । बजार व्यवसाय बन्द भएपछि डेरीले दूध खरीद गर्न छाडेका छन् । बड्डीचौरका ६० घरधुरी कृषकले करीब १०० बढी दुहुना गाईभैँसी पालेका छन् । दैनिक ५०० लिटर बढी दूध खेर गएको कृषकको पीडा छ । ऋण लिएर व्यावसायिक रुपमा दुग्ध व्यवसाय शुरु गरेका यहाँका कृषक ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

सिमलपानी पशु तथा कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन बुच्चामगरले लकडाउनका कारण मुस्किलले दैनिक २०० लिटर मात्रै दूध खपत भएको जानकारी दिनुभयो । बड्डीचौरका कृषकको दूध यही सहकारीले बिक्री गर्दै आएको छ । “लकडाउन लम्बिरहँदा गरिब किसान मर्कामा परे, सबैभन्दा बढी चिया पसलमा दूध खपत हुन्थ्यो, चिया पसल बन्द हुँदा दूध–दही बेच्न समस्या भयो”, अध्यक्ष बुच्चामगर भन्नुहुन्छ ।

वीरेन्द्रनगरका दुग्ध व्यवसायीको पीडा पनि उस्तै छ । नमूना डेरीका सञ्चालक दिनेशप्रसाद आचार्यले साटाखानी, रतु, गोठीकाँडाका कृषकको दूध खरीद गरी दैनिक ४०० लिटर दूध बेच्नुहुन्थ्यो तर लकडाउनले उहाँको दैनिकी पनि ठप्प बनाइदियो । यतिबेला यो डेरी बन्दजस्तै छ । “प्रशासनले दूध बेच्ने गाडीलाई निर्बाध चल्न दिए पनि गाउँलेमा कोरोना भाइरसको त्रास छ, त्यसैले ढुवानी गर्न सकिरहेका छैनन्”, आचार्यले भन्नुभयो, “चियापसल, होटलहरु बन्द हुँदा दूध–दही खपत ह्वात्तै घट्यो ।”

लकडाउनका कारण धरमपोखरा, पाम्का, गर्पन, बाबियाचौरलगायत स्थानबाट दूग्धजन्य पदार्थ ढुवानी हुन सकेको छैन् । नेपाल डेरी एसोसिएशन कर्णाली प्रदेशले लकडाउनका कारण ६० प्रतिशत दूध खपत घटेको दाबी गरेको छ । एसोसिएशनका अध्यक्ष प्रेम रिजालले दैनिक २५ हजार लिटर बढी दूध खपत हुने प्रदेशमा हाल मुस्किलले १० हजार लिटर खपत हुने गरेको जानकारी दिनुभयो । दूध खपत हुने मौसममै लकडाउन हुँदा यसपटक कृषक मारमा परेको उहाँको भनाइ छ । डेरी एसोसिएशनका अनुसार सुर्खेतमा मात्रै दैनिक १५ हजार लिटर दूध खपत हुन्थ्यो । तर लकडाउनले दुग्ध व्यवसाय पनि ठप्प पारेको छ ।

जिल्ला प्रशासन कार्यालय, सुर्खेतले बिहान ७ देखि ९ बजेसम्म दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न आदेश जारी गरेपछि थप समस्या सिर्जना भएको डेरी व्यवसायीहरु बताउँछन् । एसोसिएशनका अध्यक्ष रिजाल समय कम हुँदा ढुवानीमा समस्या देखिएको बताउनुहुन्छ ।

त्यस्तै कर्णाली प्रदेश सरकारले प्रदेश ५ बाट तरकारी, फलफूल, दुग्धजन्य पदार्थ आयातमा रोक लगाएको छ । जसले गर्दा यहाँ आवश्यक दूग्धजन्य पदार्थ पु¥याउन कठिन भइरहेको व्यवसायीको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*