प्रयोगशाला स्थापनाको काम अघि बढ्यो
बैतडी, ८ वैशाख : जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापनाको लागि काम अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा पनि कोरोना परीक्षणका लागि पीसीआर प्रयोशाला स्थापना गर्ने निर्णय गरेसँगै यहाँ तयारी थालिएको हो ।
प्रयोगशाला निर्माणको काम दुइ महिनामा सक्ने गरी शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । मेसिनको लागि प्रदेश सरकारले टेण्डर गरिसकेको उहाँले बताउनुभयो । प्रयोगशाला स्थापनाका लागि एकदेखि दुइ करोडसम्म बजेट आवश्यक पर्ने जनाइएको छ । प्रयोगशाला स्थापनाका लागि यसअघि विज्ञको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डाक्टर श्रवण मिश्र नेतृत्वको टोलीले अस्पतालमा प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको हो ।
प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर एचआइभी, डेंगु र अन्य जाँचका लागि समेत सजिलो हुने उहाँको भनाइ छ । जिल्ला अस्पतालको भवन निर्माण कार्य समेत जारी रहेकाले प्रयोगशाला स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
चित्किसक बैतडीमा
कोरोनाको उपचार सहयोग पु¥याउनका लागि सङघीय सरकारले ३३ जना चिकित्सकलाइ सुदूरपश्चिममा खटाएसँगै तीनजना बैतडी पुगेका छन् । इन्टरनल मेडिसिन डा.विकास साहनी र डा. डिभान्स शाह तथा अर्थोपेडिक डा. प्रकाश दर्जी बैतडी पुग्नुभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताउनुभयो । उहाँहरुले जिल्ला अस्पतालमा बसेर यो महिना सेवा दिने जनाइएको छ । उनहाँहरुले कोरोनाका साथसाथै अन्य सेवा पनि दिने डाक्टर जोशीले बताउनुभयो ।
जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी भएपनि अहिले दरबन्दीका एकजना पनि कार्यरत छैनन् । करारका दुइमध्ये एकजनाको अवधि सकिएको र आफू एक्लै कार्यरत रहेको डा जोशीले बताउनुभयो । अस्पतालमा एक नवौं र दुइ आठौं तहका चिकित्सकको दरबन्दी छ । ती दरबन्दी खाली छन् । गएको ६ महिनायता जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर छैनन् ।