शिक्षक, कर्मचारीले पाएनन् तलब

नमुनापत्र संवाददाता
१६ आश्विन २०८१, बुधबार ०९:१६

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले साउनयता तलब पाउन सकेका छैनन् । उनीहरुले तलब नपाएको गुनासो सामाजिक सञ्जालमार्फत समेत गरेका छन्।

पालिकाको मुख्य कार्यालयमा कार्यरत एक कर्मचारीले असोजको मध्यसम्म आइपुग्दा पनि साउनकै तलब नपाइँदा व्यवहार चलाउन समस्या भएको बताउनुभयो ।

यस्तै करार तथा ज्यालादारी कर्मचारीको पनि हालत उस्तै छ । साउन यताको करार सम्झौतसमेत हुन नसक्दा आफ्नो जागिर के हुने हो भन्ने विषयमा अन्यौल भएको उनीहरुको गुनासो छ।

तुलसीपुर उपमहानगरपालिका मातहतमा कार्यरत दुई सय तीनजना करार तथा ज्यालादारी कर्मचारीले २०८१ असारसम्मको तलब बुझेका छन् । उनीहरु अहिले पनि कार्यरत छन् तर उनीहरुको करार सम्झौता अझै हुन सकेको छैन् ।

शिक्षक तथा कर्मचारीको तलब मात्रै होइन, योजना सम्पन्न गरेर भुक्तानीका लागि पेश भएका फाइलहरु पनि लेखा शाखामा थन्किएका छन् भने भुक्तानी रोकिएको छ । लेखा शाखाले भुक्तानी दिन योग्य रहेका २६ वटा सम्पन्न भएका योजनाको दुई करोड ७५ लाख ८७ हजार तीन सय ६५ रुपैयाँको चेक तयार गरेको छ तर प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानी प्रक्रिया अगाडि बढेको छैन ।

लेखा शाखा प्रमुख खिमलाल वलीले लेखाले भुक्तानी दिन योग्य रहेका सबै योजना तथा प्रक्रिया पुगेका सबै शिक्षक तथा कर्मचारीको तलब तयारी अवस्थामा राखेको बताउनुभयो ।

लेखा शाखाको तथ्यांकअनुसार तलब भुक्तानी हुने स्थायी कर्मचारी तीन सय तीनजना र अस्थायी कर्मचारी नौजना मात्रै छन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पालिकामा भन्दा बढी समय काठमाडौंमा बिताउदा पालिकाको सम्पूणर् आर्थिक गतिविधिहरु ठप्प छन् ।

करार सम्झौताका लागि नगर परिषद्ले निणर्य गरिसके पनि कर्मचारी धेरै हुँदा करार सम्झौता पत्र तयार गर्न समय लागेको तर यति धेरै समय नलाग्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका सुशासन समितिका संयोजक धर्मराज वलीले बताउनुभयो ।

पालिकाले असार १० मै बजेट ल्याए पनि पालिकाले असोज ९ गतेबाट मात्रै खाता सञ्चालनको जिम्मेवारी पाएको थियो । खाता सञ्चालनमा यति धेरै ढिला हुनुको कारणबारे स्वयं कर्मचारी तथा जनप्रतिनिधिहरुले नै अनभिज्ञता प्रकट गरेका छन् । @ नयाँ युगबोध राष्ट्रिय दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*