प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने पक्राउ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको हो ।
फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्दै आएका थिए । लामालाई समाजिक सञ्जालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकबाट व्यापक गुनासो आएपछि आइतबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।
खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै आएका थिए । गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो ।
लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवादबारे सामाजिक सञ्जाल फेसबुक ओलीसहितलाई मार्ने भन्दै लेखेका थिए । यसलाई लिएर एमाले गजुरी गाउँपालिका कमिटी आपत्ति जनाएको थियो ।
लामालाई जथाभावी नलेख्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको ज्यान लिन सक्ने उल्टे धम्की दिएको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए ।
स्थानीय तहमा कार्यरत कर्मचारी उनले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेपछि ओलीबिरुद्ध गाली गलौज गर्दै आएका थिए । लामाको व्यवहारबारे एमालेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा पनि मौन बसेपछि कानुनी विकल्प खोजिएको अध्यक्ष मिजारले बताएका छन् ।
लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए । लामालाई साइबर ब्यूरोको टोलीले आइतबार नै काठमाडौं लगेर अनुसन्धान थालेको धादिङ प्रहरीले जनाएको छ ।