बोतलको एक लिटर पानी २० रुपैँयाभन्दा बढीमा बिक्रि गरेमा कार्बाही गरिने
दाङ । एक लिटर बोलतलको पानी अब २० रुपैँया भन्दा बढीमा बिक्रि गर्न नपाइने भएको छ । प्रशोधित पानी मनपरी ढंगले बिक्रि हुन थालेपछि सरकारले पानीको खुद्रा मूल्य लागु गराउन लागेको हो ।
सरकारले निर्धारण गरेको नयाँ दररेट अनुसार १ लिटर प्रशोधित पानीको मूल्य अब बढीमा २० रुपैँयामात्रै पर्ने भएको छ भने २० लिटर जारको पानी बढीमा ६० रुपैँयासम्म पर्ने भएको छ ।
बजारमा कसैले पनि तोकिएको दररेट भन्दा बढीमा बिक्रि गरेमा कार्बाही गरिने भएको छ । बोतल वा जारको पानी तोकिएको दररेटभन्दा बढीमा बिक्रि गरेमा उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई कार्बाही गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
कोही कसैले बढी मूल्यमा बिक्रि गरेको पाइएमा जिल्ला प्रशासन तथा नजिकैको प्रहरीलाई खबर गरिदिन प्रशासनले अनुरोध समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत निम बहादुर केसीले तोकिएको दररेट सम्बन्धित व्यवसायीले कार्यान्वयन गर्ने बताउनुभयो ।
यदि तोकिएको भन्दा बढी मूल्यमा बिक्रि गरेको पाइएमा व्यवसायीलाई कार्बाही हुने बताउनुभयो । बजारमा अहिले पनि व्यवसायीले एक लिटर पानीको मूल्य २५ देखि ३० रुपैँयासम्म लिने गरेका छन् भने २० लिटर जारको पानीलाई ६० देखि ८० रुपैँयासम्म लिने गरेका छन् । अब तत्काल नयाँ मूल्य लागू हुने भएको हो ।