आजदेखि एसइईको ग्रेड वृद्धि परिक्षा
दाङ । माध्यमिक शिक्षा परिक्षा (एसइई) को ग्रेड वृद्धि परिक्षा आजदेखि हुन लागेको छ । परिक्षामा दाङबाट ५ हजार ३ सय ९६ जना विद्यार्थीले ग्रेड वृद्धि परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीले बताउनुभयो ।
बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म हुने परिक्षाका लागि दाङमा ११ वटा परिक्षा केन्द्र निर्धारण गरिएको प्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार ग्रेड वृद्धि परिक्षामा २ सय ६ विद्यालयका विद्यार्थीले सहभागीता जनाउने भएका छन् ।
यसपटक दाङमा सबैभन्दा धेरै अनिवार्य गणित विषयमा विद्यार्थीले मौका परिक्षा दिन लागेका छन् । गणित विषयको परिक्षामा ३ हजार ६ सय १९ जनाले परिक्षा दिन लागेका छन् । आज पहिलो दिन २ हजार २२ जनाले अनिवार्य अंग्रेजीको परिक्षा दिन लागेको प्रमुख चौधरीले बताउनुभयो ।
भोलि दोस्रो दिन १ हजार २ सय ५४ जना विद्यार्थीले अनिवार्य नेपाली विषयको परिक्षा दिन लागेका छन् । यस्तै पर्सि गणित विषयको परिक्षा छ । ग्रेड वृद्धि परिक्षा साउन ३१ गतेसम्म संचालन हुने छ ।