रिडीमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो
पाल्पा । आज माघे संक्रान्तिको अवसरमा रिडी क्षेत्रको कालीगण्डकी नदीमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । पाल्पा,गुल्मी र स्याङ्जाको संगतमस्थल रिडीमा स्नान गर्नेको घुइँचो लागेको हो ।
संक्रान्तिको दिन तीन जिल्लाको संगम स्थल कालीगण्डकी नदीमा स्नानगरि नजिकै रहेको भगवान ऋषिकेषको मन्दिरमा पूजाआजा र दर्शन गर्नाले देब ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।
कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ ।
नेपालकै चारधाम मध्यको एक धामको रूपमा प्रसिद्ध रुरु क्षेत्रमा मेला हेर्न र स्नान गर्नका लागि नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।
मकर संक्रान्तिको अवसर सञ्चालन हुन लागेको रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।
मेलामा व्यापारका लागि प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँवाट व्यापारीहरू आइतबारनै रिडी आईपुगेका छन् ।
माघे संक्रान्ति पर्वको अवसरमा आजदेखि गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रमा माघे संक्रान्ति मेला शुरु भएकाे छ । पाल्पा,गुल्मी र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लबको मुख्य आयोजनामा मेला सञ्चालन भएको हो ।
मेला अबधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरूको साँगितिक प्रस्तुति समेत राखिएको छ ।
माघे सक्रान्तिको अबसरमा सेतीबेनी, रुद्रावेणी, राम्दी, केदादी,त्रिवेणी,देवघाट, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगायतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।