माइतीघरमा आवासीय चिकित्सकको नारा– एनएमए मुर्दावाद !

नमुनापत्र संवाददाता
१० आश्विन २०८०, बुधबार १६:५६

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।

आन्दोलनलाई सम्बोधन गर्न माइतीघर पुगेका नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिलविक्रम कार्कीलाई उनीहरुले घेराउ गरेर बोल्न नदिई नाराबाजी गरेका छन् ।

चिकित्सकको चर्को नाराबाजीपछि अध्यक्ष कार्की केही नबोली त्यहाँबाट फर्किएका छन् । अध्यक्ष कार्कीकै अगाडि प्रदर्शनरत चिकित्सकहरुले एनएमए झोले हो, आश्वासन चाहिँदैनलगायत नारा लगाए ।

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*