अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलिया सामू ३१५ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको छ । यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।
यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।
यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् ।
नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।
मंगोलियाका इरडेनबुलगन, जमेनसुरेन र अल्टनखुयागले एक–एक विकेट लिए ।